Subscribe

एमालेको नेपाल – खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज पार्टीप्यालेसमा आज र भोलि हुने राष्ट्रिय कार्यकर्ता भेला केहि बेर अघि शरू भएको हो ।

 

 

 

कार्यकर्ता भेलाको संचालन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् भने कार्यक्रमको सभापतित्व झलनाथ खनालले गरेका छन् । कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट २ हजारभन्दा बढी कार्यकर्ता उपस्थित भएको नेपाल – खनाल पक्षले जानकारी दिएको छ । सर्वोच्चको फैसलापछि ब्युँतिएको एमालेमा दुवै पक्षको ध्रुविकरणले समानान्तर कमिटी हुदै आज नेपाल र खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन् । आज र भोलि हुने कार्यकर्ता भेलामा पार्टी एकतामा जोड दिइने उनीहरुले दाबि गरिएपनि यो भेला एमाले बिभाजनको शुरुवात हुने विश्लेषण गरिएको छ ।

 

 

 

 

नेपाल – खनाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता बचाउन फागुन २८ को निर्णय खारेजको माग गर्दै सो खारेज नभएकाले भेला बोलाउन बाध्य भएको बताएका छन् । त्यस्तै ओली पक्षले पनि भेला नगर्न र सहभागी नहुन चेतावनी दिएको छ ।

 

 

 

 

महासचिव ईश्वर पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै पार्टीका तर्फबाट चैत्र ४ र ५ गते कुनै भेला आयोजना नभएको बताएका छन् । महासचिव पोखरेलले एमालेको नाममा भेला आयोजना गर्ने भनि प्रचारित सूचनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनाधिकृत गुटगत भेला नगर्न, भेला आयोजनाको भ्रम नफैलाउन र त्यस्तो भेलामा सहभागी नहुन एमालेका सबै नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएका छन् ।

 

 

 

 

साथै भेलामा सहभागी भएमा पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै एमालेको अर्को वामदेव गौतमको पक्ष पनि पार्टी एकता अभियान चलाउने भन्दै अलग्गै गतिबिधि गरिरहेको छ । मंगलबार गौतम पक्षले पनि आफ्नो अभियानको बैठक बसेर प्रधानमन्त्री ओलीलाई वामपन्थी नेतृत्वको सरकार जोगाउन प्रचण्डसँग कुराकानी अगाडी बढाउन आग्रह गरेका छन् । उनले अहिले तत्काल एमालेमा खुशी साथ जाने अवस्था नरहेको बताउदै पार्टी एकता अभियान जारी राख्नुपर्ने बताएका थिए ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्