काठमाडौँ । सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । यस्तै, आज अमेरिकाबाट मोडर्ना खोप आउँदैछ ।
झण्डै १५ लाख मात्रा मोर्डना खोप नेपाल आउन लागेको हो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । गएको शुक्रवार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको थियो । यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप दिइएको थियो ।
नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोभिड–१९विरुद्ध आविष्कार भएका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने भएकाले आतंकित नहुन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । तर खोपले काम गर्छ भन्दैमा जनस्वास्थ्य मापदण्डको पालनामा लापर्वाही भने गर्न नहुने उनीहरूले बताएका छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेसम्म आविष्कार भएका खोपले ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्दैन भन्ने कुरा कहिँकतै पुष्टि नभएको बताएका छन ।