काठमाडौं । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारीको पछिल्लो धारणा आएको हो ।
अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् । तर डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हालसम्म कुनै संकेत फेला नपरेको बताएका छन् ।
प्रारम्भिक तथ्याङ्कबाट समेत डेल्टा र अन्य भेरियन्टको तुनलामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको पनि रायनको भनाइ थियो ।
वैज्ञानिकहरूले पनि यसअघिको कोभिड संक्रमण, लगत्तैको खोप वा बुस्टर डोजका कारण रोग प्रतिरोधी क्षमता बढ्न सक्ने र मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने विश्वास गरेका छन् ।
मोडेर्ना, जोनसन एण्ड जोनसनसहितका अन्य कोभिड ओमिक्रोनविरुद्ध काम गर्ने वा नगर्ने भनेर हालसम्म महत्वपूर्ण तथ्य बाहिर आइसकेको छैन । ओमिक्रोनविरुद्ध फाइजर खोप के(कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्याङ्क बाहिर आउने अपेक्षा गरिएको छ ।