काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
आज पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको बताएका छन । उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाए । अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे ।
अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताए । नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।