आउँदो ३० गते हुने पालिका चुनावका लागि आज ठूला दलले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि हिजो धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ ।
आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार हिजो देशभर ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ । भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ ।
बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।