Subscribe

दशैँ छटौँ दिन आज कात्यायनीदेवीको पूजा गरेर मनाइयो

 

बिहिबार बडा दशैंको छैटौं दिन हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाएका छन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

 

 

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

 

 

देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार पनि मानिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

 

 

 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । खुला भएका मन्दिरहरुमा भक्तजन पुग्ने गरेका छन् ।

 

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्